काठमाडौं उपत्यकामा आजबाट थप एक साता निषेधाज्ञा

काठमाडौं । बैशाख २२, काठमाडौं उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा थप गरीएको छ ।वैशाख १६ गते देखि एक साताका लागि जारी गरिएको निषेधाज्ञा आजबाट थप एक साता लम्बाइएको हो ।
त्यस्तै, थप गरीएको निषेधाज्ञालाई अघिल्ला दिनहरुको भन्दा कडा बनाउनुपर्ने निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।
त्यसैले बिहान ९ बजेसम्म मात्र खाद्य वस्तुका पसलहरु खोल्न दिने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् भने साँझपख पनि पसल खोल्न पाउने व्यवस्था भने हटाइएको छ ।
यसैगरी यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको छ । अब जिल्ला प्रशासन कार्यालयहरुले नयाँ पास जारी गर्नेछन् । पत्रकारहरुका लागि सूचना विभागको पास अनिवार्य गरिएको छ ।
सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमालगायतका कार्यालयमा एक चौथाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा आफ्ना शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउनेछन् ।
अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने छ भने विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दुरी कायम गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिइएको छ ।