कतारमा २४ नेपालीको कोरोना संक्रमणबाट मृत्यु
सहयात्रा टिभी
काठमाडौं । बैशाख ३०, कतारमा कोरोना भाइरसको संक्रमणले अहिलेसम्म २४ नेपालीको मृत्यु भएको छ ।
कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईका अनुसार पहिलो लहरको संक्रमणले १८ जना र दोस्रो लहर शुरू भएपछि थप ६ नेपालीको मृत्यु भएको हो ।
मृतकहरुमध्ये परिवारको अनुमति लिएर २३ जनाको कतारमै अन्त्येष्टि गरिएको छ भने बाँकी १ जनाको कानुनी प्रक्रिया पूरा गरेर चाँडै अन्त्येष्टि गरिने भट्टराईले बताए ।
पछिल्लो २४ घण्टाको अवधिमा कतारमा ३९२ जनामा संक्रमण पुष्टी भएको छ भने ८६२ जनालाई निको भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कतारमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार १२४ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या २ लाख ४ हजार ४९८ रहेको मन्त्रालयले बताएको छ।