मङ्गल ग्रहबाट चिनियाँ अन्तरिक्ष यानले पहिलो तस्बिर पठायो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । जेठ ६, चीनले मङ्गल ग्रहमा अवतरण गरेको उसको जुरोङ नामको यानले खिचेको पहिलो तस्बिरहरू सार्वजनिक गरेको छ ।
यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छ भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ । सो यान आइतवार बिहानै मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो ।
सो अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको थियो । मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गरेको उक्त यानले कम्तीमा त्यहाँको ९० दिन काम गर्ने अपेक्षा चिनियाँ वैज्ञानिकहरूको छ।
जुरोङ २४० किलो तौलको छ र सौर्य ऊर्जाबाट चल्छ । सो यानको अग्लो भागमा क्यामरा राखिएको छ जसले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ ।
जुरोङमा क्यामराबाहेक अन्य पाँच उपकरण छन् जसले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् ।
अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्समा जस्तै यसमा पनि लेजर प्रविधिले चट्टानको अध्ययन गर्ने उपकरण छ ।
अमेरिकाले सन् १९७६ मा भाइकिङ-२ अवतरण गरेकै स्थान वरपर जुरोङ यान अवतरण भएको छ । सो स्थानमा लामो समयअगाडि समुद्र रहेको हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ ।