उपाधि जिताएका दुई दिनमै लिलका प्रशिक्षकले दिए राजीनामा

काठमाडौं । जेठ १२, क्रिस्टोफी गाल्टियरले फ्रेन्च क्लब लिलको मुख्य प्रशिक्षकबाट राजीनामा गरेका छन् ।
गाल्टियरकै प्रशिक्षण दुई दिनअघि मात्रै फ्रेन्च लिगको उपाधि लिलले जितेको थियो ।
यसै सिजनको मध्यतिर नयाँ मालिकले क्लब किनेपछि ५४ वर्षीय प्रशिक्षक गाल्टियरले क्लब छाड्ने अपेक्षितजस्तै थियो । ‘मलाई यसमा गहिरो विश्वास छ कि यहाँ मेरो समय सकिइसकेको छ,’ गाल्टियरले बताए ।
मंगलबार क्लबले उपाधि जितेको खुसीयालीमा शहरको केन्द्रमा परेड निकालेको थियो । यस खुसीयालीपछि ग्लाटियरले राजीनामा गरेको घोषणा गरेका हुन् ।
डिसेम्बर २०१७ मा लिल रेलिगेसनको ठूलो खतरामा थियो । त्यसपछि प्रशिक्षक मार्सेलो बिल्सालाई हटाएर ग्लाटियरलाई प्रशिक्षक नियुक्त गरिएको थियो । त्यसयता लिल २०१८/१९ को सिजनमा अंकतालिकामा दोस्रो स्थानमा आयो । त्यसैगरी गत सिजन चौथो स्थानमा आएको लिल यस सिजन च्याम्पियन नै बन्यो ।