पत्रकार महासङ्घका उपाध्यक्ष भण्डारीको कोरोना सङ्क्रमणबाट निधन

सहयात्रा टिभी

काठमाडौं । जेठ १६, नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष ५२ वर्षीय एकराज भण्डारीको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

गत वैशाख ३१ गते उनलाई सङ्क्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत गराईएको थियो भने उनको शनिबार अपराह्न ४ः३० बजे निधन भएको छ ।

त्यस्तै श्वासप्रश्सावमा समस्या देखिएका भण्डारीलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार निधन भएको उहाँको उपचारका लागि सहयोग सङ्कलनमा सक्रिय नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

उहाँको पार्थिव शरीरलाई गए राति नै फिदिम–४ माझीटारस्थित हेवाघाटमा नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले अन्त्येष्टि गरेको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङ स्थायी घर भई विगत डेढ दशकभन्दा लामो समयदेखि फिदिममा रहेर भण्डारी पत्रकारिता, साहित्य र प्राध्यापन क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । नेपाल टे«ड युनियन कांग्रेस पाँचथरका उपाध्यक्षसमेत रहनुभएका भण्डारी फिदिमस्थित कञ्चनजङ्घा एकेडेमी माध्यमिक विद्यालयमा प्राध्यापनरत हुनुहुन्थ्यो ।

निडर, हक्की र स्पष्ट स्वभावका भण्डारीको निधनले पाँचथरको पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको र जिल्लाको समग्र सञ्चार क्षेत्रले एक नक्षत्र गुमाएको महासङ्घ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले बताउनुभयो । एजेन्सीको साथमा ।

प्रकाशित : 30 May, 2021

प्रतिक्रिया दिनुहोस्