विश्वकप छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको जित

काठमाडौँ । जेठ २१, चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका हुन् । खेलको चौंथो मिनेटमा नै विष्टले पेनाल्टीमार्फत गोल गरेका थिए । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ताइपेईका चेङ हाओको हातमा लागेपछि नेपालले पेनाल्टीको अवसर पाएको हो । विष्टले पेनाल्टीको अवसर सहजै उपयोग गरे ।
मध्यान्तरपछिको खेलमा ताइपेईले आक्रामक खेल्यो । पटक पटक गोलको प्रयासहरू भए पनि ताइपेई सफल भने हुन सकेन । खेलको ८०औँ मिनेटमा मनिष डाँगी गोल गर्नबाट असफल भए पनि ८१औँ मिनेटमा भने नवयुग श्रेष्ठले उत्कृष्ट गोल गरे । योसँगै नेपालले ताइपेईविरुद्ध २–० गोलको अग्रता लियो । त्यसपछिको खेलमा ताइपेई केही आक्रामक खेल्न पुग्यो । उसको तर्फबाट पटकपटक गोलको प्रयास भए पनि सफल भने हुन सकेन ।
जितसँगै नेपालले ६ अंक जोडेको छ । नेपाल समूह बीको चौथो स्थानमा छ । ताइपेई हालसम्म अङ्कबिहीन छ । यसअघि पनि नेपालले ताइपेईलाई नै पराजित गर्दै तीन अङ्क जोडेको थियो । फिफा बरियतामा ताइपेई १४१औँ स्थानमा छ भने नेपाल १७१औँ स्थानमा छ । दुवै देशका खेलाडीले कुवेतको गर्मीलाई मुख्य चुनौतीका रूपमा लिएका थिए । बिहीबार राति खेल हुँदाका बखतको अधिकतम तापक्रम ३९ डिग्री सेन्टिग्रट थियो । समूह बी मा १२ अङ्कका साथ अस्ट्रेलिया शीर्ष स्थानमा छ । दोस्रो स्थानमा १० अङ्कसहित कुवेत छ भने १० अङ्ककै साथ जोर्डन तेस्रो स्थानमा छ ।
इराकसितको मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने तालिका रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
यसअघि नेपाल गत साता मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो ।