बाढीपहिरोको दीर्घकालीन समस्याः आखिर कहिलेसम्म ?
काठमाडौं । असार १८,
सहयात्रा सम्पादकीयः मानो रोपेर मुरी उव्जाउने महिनाको रुपमा असार महिनालाई लिईन्छ । नेपाल कृषि प्रधान देश भएको हुनाले नेपालमा खेतीपातीका दृष्टिले यस महिनालाई उत्सवमय महिना मानिन्छ ।
नेपालको मुख्य कृषि उत्पादनका रूपमा धानबाली रहेको र असार धान रोपाइँ गरिने महिना भएकाले परम्परादेखिनै यसको आर्थिक र सांस्कृतिक महत्व रहने गरेको छ । तर, यही महिना नेपालीका लागि दुःख र विपत्को महिना पनि बन्ने गरेको तितो यथार्थ हामी माझ छ ।
केहि दिन अघि मात्र धान रोप्न गएका मध्यनेपाल नगरपालिका–७ का किसान मिदिम खोलाले थुनिएर भोलिपल्ट बिहान मात्रै उद्धार गरिएको थियो । खेतीपाती केवल उत्सवमय हुँदैन, बरु यस्ता अनेक जोखिमसमेत व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ ।
यसपालि मनसुनको शुरुवाती चरणमा नै असारमै गण्डकी प्रदेशका बाग्लुङ म्याग्दी, कास्की, मुस्ताङ, लमजुङ र मनाङमा बाढीले निकै ठूलो धन जनको क्षति भयो । उता बागमती प्रदेशको सिन्धुपाल्चोक पनि पहिरो र बाढीले वित्यास पार्यो । बाढीपहिरोले जन धनको क्षतिसंगै क्षणभरमै सयौँ घरपरिवारलाई विस्थापित बनाईदिएको छ । यसपालिको बाढीले मुख्यतया हिमाली र पहाडी क्षेत्रका नदीकिनारका बस्ती प्रभावित भएका छन् ।
पछिल्लो समय विस्तारित सडक सञ्जालका कारण पनि यस्तो भूक्षयको खतरा बढेको छ । मानिसहरु जीविकाका परम्परागत साधन र स्रोतमा आश्रित परिवार यस्तो जोखिम थाहा हुँदा पनि बसाइँ सरेर सुरक्षित ठाउँमा जान सक्दैनन् । ति मानिसहरु सडक छेउछाउ हुँदै ससाना पसल, होटेल, खाजाघर चलाउन सहरबजारका किनारमा भिरपाखो या नदीकिनारमा जोखिम उठाएरै घर या झुपडी बनाउने गरेका छन् । यस्ता दुवैथरि परिवार बाढी र पहिरोका जोखिममा छन् ।
हामी वर्षैपिच्छे बाढी र पहिरोका कारण हुने धनजनको क्षतिको हिसाब गर्न, उनिहरुका आधारभूत मागवारे पूरा नहुने प्रतिबद्धता र आश्वासनको राजनीति टुलुटुलु हेर्न बाध्य छौँ । तर हामी हरेक वर्षको मनसुन शुरु हुदै यस्तो खतरा बढ्ने थाहा हुदा हुदै राज्यले गरेको बेवास्ताको शिकार कहिले सम्म बनिरहने त रु कसैलाई पनि नयाँ घर बनाउँदा सम्बन्धित निकायले जोखिम मूल्यांकन गरेर बस्न हुने ठाउँमा मात्र अनुमति दिने हो भने यस्तो समस्या सृजना नै हुदैन ।
अझै पनि केहि विग्रिएको छैन । योजनाबद्ध, व्यवस्थित र भरपर्दो बस्ती विकासको दिशामा राज्य अझै अघि नबढ्ने हो भने हामी हरेक वर्ष बाढीले बगाएका र पहिरोले पुरिएका मानिसको संख्या गन्ने, यति ठूलो धनजनको क्षति भयो भनेर दुःख मनाउ गर्ने कार्यमै सीमित हुनेछौँ । तसर्थ राज्यले भावी दिनमा यस्तो समस्या नै आउन नदिन उच्च सतर्कताका साथ छिटो भन्दा छिटो यस्ता समस्या सृजना नै हुन नदिन कदम चालोस ।