देशभर वर्षा जारी, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । साउन १, आज लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार सोमबारदेखि भने मनसुनी वायु देशभर सक्रिय हुने भएकाले देशैभर जसो लगातार पानी पार्ने सम्भवना छ ।
वर्षासँगै बाढीपहिरो जाने तथा नदीमा पानीको बहाव बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।