साउन १५ भित्र चीनबाट ३२ लाख डोज खोप नेपाल आउने
काठमाडौँ । साउन २, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको ३२ लाख भेरोसेल खोप साउन १५ भित्र नेपाल आइपुग्ने जनाएको छ ।
यही साउन ६ गतेदेखि चीनबाट खरिद गरिएका थप खोपको आपुर्ति शुरू हुने र साउन १५ भित्र कम्तीमा ३२ लाख डोज खोप नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेकोमा आठ लाख डोज भेरो सेल खोप आइसकेको छ ।
१८ वर्षभन्दामाथिका सबै नागरिकलाई नि:शुल्क खोप लगाउने योजना बनाएको मन्त्रालयले खोप आपुर्तिको समस्यालाई समाधान गर्दै खोप अभाव हुन नदिने जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै सबै नागरिकलाई खोप उपलब्ध हुने बताएका छन् । ‘निरन्तर अन्य खोपहरू नेपाल आउने क्रम जारी रहनेछ । हामी सबैले खोप लगाउन पाउने छौँ ।’ उनले भनेका छन् ।
चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरूलाई खोप लगाउने अभियान निरन्तर सञ्चालन हुने मन्त्रालयले जनाएको छ । सहप्रवक्ता अधिकारीका अनुसार केही जिल्लाहरुबाट भेरो सेल खोप अभियान शुरू गरी अर्को चरणको अभियान सञ्चालन गर्न हाललाई स्थगित गरेको र ती जिल्लाहरूमा अर्को चरणको अभियान आइतबारबाट शुरु हुनेछ ।