टोकियो ओलम्पिक : कल्पनाले बनाइन् राष्ट्रिय कीर्तिमान

काठमाडौं । साउन ९, सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सागमा उनी चौंथो भएकी थिइन् ।
राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौंथोमा १०४.१, पाँचौमा १०३.४ र छैटौं १००.७ अंक जोडिन् ।
तर, उनी फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन् ।
छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् ।कल्पना वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् ।
त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी कल्पनाले ओलम्पिकको छात्रवृत्तिमा ओलम्पिक तयारी गरेकी थिइन् । टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन् ।
अब चार खेलाडीको प्रतिस्पर्धा बाँकी रहेको छ ।