कुन खोप लगाउँदा कस्तो साइड इफेक्ट हुने ?
सहयात्रा टिभी
काठमाडौं । साउन १७, नेपालसहितका देशमा खोपको उपलब्धता तथा अमेरिका, बेलायतसहितका देशमा खोप सम्बन्धी गलत जानकारी वा खोप विरोधी अभियानका कारण संक्रमण फैलिरहेका बेला अहिलेसम्म स्वीकृत भएका केही खोपहरुको प्रभावकारिता र देखिन सक्ने साइड इफेक्ट यस्ता रहेका छन् :

भेरोसेल
भेरोसेल एक चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप हो र हाल यो खोप नेपालमा उपलब्ध छ । २१ दिनको अन्तरालमा दुई मात्रा लगाउनु पर्ने यो खोपको प्रभावकारिता लक्षणसहितको संक्रमण रोक्नमा ७९ प्रतिशत तथा अस्पताल भर्ना हुनु पर्ने अवस्थाको संक्रमण रोक्न पनि ७९ प्रतिशत देखिएको छ। यो खोप लगाएका व्यक्तिमा टाउको दुख्ने, ज्वरो आउने, थकान हुनेसहितका सामान्य साइड इफेक्ट देखिन सक्छ।
जोन्सन एण्ड जोन्सन
एक मात्रा मात्रै लगाए पुग्ने अहिलेसम्म स्वीकृत एक मात्र खोप हो जोन्सन एण्ड जोन्सन। यसको समग्र प्रभावकारिता ७२ प्रतिशत रहेको छ। संक्रमण भए पनि गम्भीर अवस्था आउन नदिन यसको प्रभावकारिता ८६ प्रतिशत रहेको छ। थकान, ज्वरो, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुखाई हुने तथा मांशपेशीको केही भागमा दुखाई हुनेसहितका सामान्य साइडइफेक्ट देखिन्छन्। खोप लगाएका केही व्यक्तिमा ब्लड क्लटिङ्ग डिसअडर (रगत जम्ने समस्या) पनि देखिएको सार्वजनिक भएको छ। तर यो समस्या निकै कम रहेको उल्लेख छ।
फाइजर–बायोएनटेक
जर्मनीको बायोएनटेक तथा अमेरिकाको फाइजरले विकास गरेको खोपको प्रभावकारिता (लक्षणसहितको संक्रमण रोक्नमा) ९५ प्रतिशत रहेको छ। यो खोप दुई मात्रा लगाए पुग्छ। तर फाइजरले संक्रमणको जोखिम कम गर्नका लागि खोपको तेस्रो मात्रा लगाउने सम्बन्धमा पनि स्वीकृतिका लागि प्रयास गरिरहेको छ।
२१ दिनको फरकमा दुई मात्रा लगाउनु पर्छ। रिंगटा लाग्ने, टाउको दुख्ने, दुखाइ महसुस हुने, थकान महसुस हुने, खोप लगाएको ठाउँ सुन्निनेसहितका सामान्य लक्षणहरु देखिन्छन्। यो खोपको पूर्ण मात्रा लगाएका व्यक्तिहरु संक्रमित भए पनि अस्पताल भर्ना हुनुपर्ने अवस्था नआउने देखिएको छ। यो खोप अहिलेसम्म नेपालमा उपलब्ध छैन।
अक्सफोर्ड–एस्ट्राजेनेका
अक्सफोर्ड विश्वविद्यालयल र बेलायती–स्वीडिस कम्पनी एस्ट्राजेनेकाको सहकार्यमा विकास गरिएको खोप हो यो खोप चारदेखि १२ हप्ताको फरकमा दुई मात्रा लगाउनु पर्छ। नेपालमा हालसम्म २५ लाख डोज खोप लगाइयो । १८ वा त्यो भन्दा माथिको उमेर समूहका लागि स्वीकृत खोप लक्षणसहितको संक्रमण रोक्न ७६ प्रतिशत प्रभावकारी देखिएको छ। यस्तै अस्पताल भर्ना हुनु पर्ने अवस्था आउन नदिनका लागि यो खोप ९३ प्रतिशत प्रभावकारी देखिएको छ।
मोदेर्ना
अमेरिकाको मोदेर्नाले उत्पादन गरेको खोप हो। यो आकस्मिक प्रयोगका लागि स्वीकृति पाउने दोस्रो खोप हो। यो खोपको भण्डारण सामान्य फ्रिजको तापक्रममा गर्न सकिन्छ। तर फाइजरको खोप भने माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण गर्नु पर्ने हुन्छ।
यो खोपको प्रभावकारिता (लक्षणसहितको संक्रमण रोक्नमा) ८६ प्रतिशत रहेको छ। यो खोपको पनि दुई मात्रा लगाउनु पर्छ। रिंगटा लाग्ने, टाउको दुख्ने, दुखाई महसुस हुने, थकान महसुस हुने, खोप लगाएको ठाउँ सुन्निनेसहितका सामान्य लक्षणहरु देखिन्छन्। फाइजरमा जस्तै यो खोप लगाएका व्यक्तिमा पनि निकै दुर्लभ अवस्थामा मुटु सुन्निनेसहितका गम्भीर साइडइफेक्ट देखिएका छन्। तर यो संख्या निकै कम रहेको छ।
–यल मेडिसिन, डब्लुएचओ, वेबएमडी, न्यूयोर्क टाइम्स, बिबिसीसहितको सहयोगमा


