काबुल हवाई उद्धारका क्रममा ज्यान पनि जान सक्ने बाइडेनको चेतावनी

काठमाडौँ । भदौ ५, अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट ठूलो संख्यामा मानिसहरूलाई बाहिर निकाल्ने कार्य कुनै मानवीय क्षति बिना हुन नसक्ने बताएका छन् ।
ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडेनले ‘क्षतिको जोखिम बिना’ अफगानिस्तानबाट ठूलो मात्रामा मानिसहरूलाई उद्धार सम्भव नभएको स्वीकार गरेका हुन् ।
उनले अमेरिकाले १३ हजार मानिसहरुको उद्धार गरेको जानकारी दिँदै ” यो इतिहासको सबैभन्दा ठूलो र सबैभन्दा कठिन हवाई उद्धार मध्ये एक” भएको बताए ।
तर तालिबानले अमेरिकी सेनालाई बाधा नगर्ने राष्ट्रपतिको भनाइमा उनका आफ्नै रक्षा सचिवले भने बिरोध गरेका छन् । अफगानिस्तानमाथि तालिबानले कब्जा जमाएपछि बाइडेनले अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नु परेको छ ।
अफगानिस्तानमा रहेका सबै अमेरिकी नागरिकलाई स्वदेश फिर्ता ल्याउने उनले प्रतिबद्धता जनाए ।
पत्रकारले सोधेको एक प्रश्नमा राष्ट्रपति बाइडेनले सबै अमेरिकी नागरिकका साथै अमेरिकी सेनालाई साथ दिएका ५० देखि ६५ हजार अफगान सहयोगीहरुलाई पनि अफगानिस्तानबाट बाहिर निकालिने जानकारी दिए ।
बाइडेनले यो उद्धार मिसन जोखिमपूर्ण रहेको जनाउँदै कुनै गल्ती गर्न नहुने बताए । कठिन परिस्थितिमा यो कार्य भइरहेकाले अमेरिकी सेनामाथि समेत खतरा रहेको उनको भनाइ छ ।