काबुल विमानस्थलमा आतंकवादी आक्रमण, १३ अमेरिकी सेनासहित ६० जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । भदौ ११, अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुई वटा आत्मघाती बम विष्फोट र बन्दुक आक्रमणमा परी कम्तिमा ६० जनाको मृत्यु भएको छ ।
आक्रमणमा परी मृत्यु हुनेमा १३ जना अमेरिकी सेना रहेको अमेरिकाका राष्ट्रपति जो बाइडेनले जानकारी दिएका छन् ।
बिहीबार काबुल विमानस्थलबाट धमाधम उद्धार कार्य भइरहेको अवस्थामा भीडलाई लक्षित गरी आक्रमण भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । यसअघि काबुल विमानस्थलमा सुरक्षा खतरा रहेको भन्दै अमेरिका तथा बेलायतले चेतावनी जारी गरेका थिए । जिहादी आक्रमणको निन्दा गर्दै राष्ट्रपति बाइडेनले अपराधीहरुको खोजी गरेरै छाड्ने प्रतिबद्धता पनि जनाए ।
उनले अहिले जारी उद्धार मिसन पनि पूरा गरेरै छाड्ने बताएका छन् । तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेपछि गत अगस्ट १५ देखि उद्धार कार्य शुरु गरिएको थियो । हालसम्म अफगानिस्तानबाट एक लाखभन्दा बढी मानिसको उद्धार गरिएको छ ।
अगस्ट ३१ भित्र उद्धार कार्य सम्पन्न गर्नु पर्ने समयसीमा तोकिएको छ । जसका कारण काबुल विमानस्थलमा देश छोड्न चाहने अफगान तथा विदेशी नागरिकको भीड लाग्ने गरेको छ ।