विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदै
काठमाडौँ । असोज १३, आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । यो वर्ष ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’भन्ने नारासहित दिवस मनाइँदैछ।
नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढ्दै गएका कारण बिभिन्न चेतनामुलक कार्यक्रम गरी मुटु दिवस मनाइने गरिन्छ ।
विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ।
नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। विश्व मुटु महासंघका अनुसार वर्षेनी १ करोड ८६ लाख मानिसको मुटु सम्बन्धि रोगबाट मृत्यु हुने गरेको छ। जसमा विकास उन्मुख र अविकसित देशहरुमा मुटुरोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशत भन्दा बढि रहेको छ।
सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट मृत्यु हुनेको संख्या वर्षेनि २ करोड ५० लाख सम्म पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ। हृदयाघातबाट सबै भन्दा बढि मानिसको मृत्युको कारक हुने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपाललगायत विकासोन्मुख राष्ट्रहरुमा हृदयाघात भएर मर्नेको संख्या ३५ प्रतिशत भन्दा बढि पुग्ने पनि अनुमान संगठनले गरेको छ।