शक्तिपीठहरुमा भक्तजनको घुइँचो, छैन कोरोनाको डर

काठमाडौँ । असोज २१, दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो ।
विगत वर्षमा काटिएको घटस्थापनाको दिनको सार्वजनिक बिदा यस वर्षदेखि सरकारले फेरि दिन थालेकाले पनि शक्तिपीठमा भक्तजनको भीड लागेको हो । नवरात्र नपरेका बेला पनि आज देवी मन्दिरमा भक्तजनको भीड लाग्छ । शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय मानिन्छ । यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो देखिन्छ ।
बडादसैँका रुपमा समेत मनाइने यो नेपालीको राष्ट्रिय चाड हो । बडादसैँको पहिलो दिनदेखि नै घरघरमा घटस्थापना गरी नवदुर्गाको विशेष पूजा आराधना गरिन्छ । आज घटस्थापनाको साइत बिहान ११ : ४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि शान्ति गर्नुपर्ने शास्त्रीय विधि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । चित्रा नक्षत्रको स्वामी त्वष्टाअर्थात् विश्वकर्मा र वैधृति योगका स्वामी अदितिको पूजा अराधना गरेर दोष मुक्तिका लागि शान्ति गर्नुपर्छ ।
भक्तपुरका शक्तिपीठमा मेला
बिहानैदेखि भक्तपुरको ब्रह्मायणी मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । ब्रह्मायणी नदीमा स्नान गर्ने र मन्दिरमा दर्शन एवं पूजा गर्नेको भीड लागेको हो । यहाँका नौवटा शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ ।
भक्तपुर नगरपालिकाले यस वर्ष पनि कोरोनाको जोखिम बढेकाले शक्ति पीठमा भीड तथा मेला नगर्न र सामान्य पूजामा सीमित गर्न आव्हान गरे पनि शक्तिपीठमा भने बिहानैदेखि पूजा गर्ने तथा दर्शनार्थीको भीड लागेको छ ।
त्यसैगरी भक्तपुरमा आजै रातिदेखि नवरात्रि मेला पनि सुरु हुँदैछ । घटस्थापनाका दिनबाट सुरु हुने मेलाले यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्दछ । रातको समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर पूजा गर्ने परम्रपरा छ ।
नवरात्रि मेलामा पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीका दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ ।
नवमीका दिन राती महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचण्लन छ । नवमीका दिन रातिभरि र दशमीका दिन ब्रह्मायणीमा हजारौँको भीडमा मेला भर्ने गरिन्छ ।