अमेरिकामा गोली चल्दा एक नेपाली व्यवसाहिको मृत्यू

काठमाडौं । कार्तिक ३, अमेरिकाको मासाचुसेट्स राज्यको एक पसलमा भएको गोलीकाण्डमा एक नेपाली पसल सञ्चालक ५४ बर्षीय लालकिशोर महासेठको मृत्यु भएको बताईएको छ ।
महासेठका पत्नी, दुई छोरा र छोरी अमेरिकामै बसोबास गर्छन् । प्रहरीका अनुसार पसलमा केही खाने कुरा लिन लाग्दा अज्ञात व्यक्तिले पैसा तिर्ने काउन्टर पछाडिबाट महासेठको छातीमा गोली चलाएको थियो ।
त्यस्तै फल रिभर प्रहरीलाई राति १०ः३० बजे उक्त पसलमा गोली चलेको खबर आएको थियो । ब्रिस्टोल जिल्ला अधिवक्ताको कार्यालयका अनुसार २०१ रक मार्गस्थित स्टप एण्ड सेभ नामक सुबिधा पसलमा गोली चलेपछि ९११ मा प्रहरीलाई खबर आएको थियो ।
स्थानीय सञ्चार माध्यमका अनुसार मासाचुसेट्सको फल रिभर भन्ने शहरमा सोमबार राति घटनामा भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उनलाई एम्बुलेन्सबाट चार्लटन मेमोरियल अस्पताल पुर्याइएको थियो । अस्पतालले राति ११ बजे उनलाई मृत घोषित गरेको छ ।
यो घटनाको मधेसी एसोसिएसन अफ अमेरिकाले निन्दा गर्दै वक्तव्य जारी गरेको छ । महासेठ मधेसी एसोसिएसन अफ अमेरिकाका संस्थापक सदस्य थिए । उनी न्यू इङल्यान्ड शाखाका संस्थापक अध्यक्ष समेत थिए । हाल उनी यस संस्थाको केन्द्रीय सल्लाहकार समितिका सदस्य थिए ।