पल शाहसँग आफ्नो नाम जोडेर सम्बन्धका विषयमा समाचारहरू आएको भन्दैः समीक्षा अधिकारी

काठमाडौँ । कात्तिक ८, गायिका समीक्षा अधिकारीले नायक पल शाहसँग आफ्नो नाम जोडेर सम्बन्धका विषयमा समाचारहरू आएको भन्दै अधिकारीले आपत्ति जनाएकी छिन्।
शाहसँग सम्बन्धका बारेमा तोडमोड गरेर तुच्छ कुराहरू मिडियामा ल्याई अफवाहको रूपमा फैलाउँदा नायक शाह र आफूलाई सामाजिक र चारित्रिक रूपमा निकै असर गरेको बताउँदै समीक्षाले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भनाई राख्दै उनले आफूहरू एउटै ‘इन्डस्ट्री’ मा भएको तथा पल आफ्नो अभिभावक भएको उल्लेख गर्दै आफूहरूबिचमा कुनै अनैतिक सम्बन्ध नरहेको उल्लेख गरेकी छिन्।
उनले कसैको व्यक्तिगत जीवनमा आँच आउने, मान हानी हुने तथा चरित्रहत्या गर्ने खालका समाचार नबनाउन पत्रकारहरूलाई अनुरोध गर्दै मिडियामा आएका कुरामा आफू र आफ्नो परिवारले खेद प्रकट गरेको बताएकी छिन्।
पल र समीक्षाले कुनै एउटा अन्तरवार्तामा बोलेका कुराको ‘कट आउट’ हरू मिलाएर उनीहरूबिच प्रेम सम्बन्ध रहेको देखाउने ‘क्लिप’ हरू सामाजिक सञ्जालमा देखिएका छन्।
जसमा व्यक्तिगत जीवनलाई नै अप्ठ्यारो हुने खालका कमेन्टहरू लेखिएका छन्। यही सन्दर्भमा समीक्षाले फेसबुकमा यस्तो लेखेकी छिन्।
समीक्षाको स्ट्याटस
नमस्कार
मलाई समिक्षा अधिकारी बनाउनुहुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्युसङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पल जिको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मेडियामा आएका छन जसले मेरो चरित्र हत्या भएको छ। यसका साथसाथै पल जिको क्यारिअर माथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिराको छन्।
एउटै इण्डस्ट्रीजमा भएको हिसाबले पल जिले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ।
मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाँको सदैव फ्यान पनि हुँ। र हामीबिच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेएको र हामी केवल साथमा काम गरिरहेको छौँ र हजुरहरुको माया रहेसम्म सधैँ राम्रो काम गरिरहने छौँ।राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचारले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन।
म जे छु जहाँ छु यो सब मेरा भगवानरुपी दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचारहरुपति घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरुलाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्तिगत जिवनमा आँच आउने मान हानी तथा चरित्रहिन हुने किसिमको समाचार नबनाउनु होला।