अष्ट्रेलियाले अर्को हप्तादेखि आफ्ना नागरिकहरुलाई बिना अनुमति देशबाट बाहिरिन दिने
काठमाडौँ । कात्तिक १४, अब अष्ट्रेलियाले अर्को हप्तादेखि आफ्ना नागरिकहरुलाई बिना अनुमति देशबाट बाहिरिन नपाउने नियम हटाउने भएको छ ।
अष्ट्रेलियनहरुले विश्वकै सबैभन्दा कडा सिमाना नियमको पछिल्लो १९ महिनादेखि पालना गरिरहेका थिए । यस्तोमा नोभेम्बर १ देखि कोभिडको पूरा डोज खोप लगाएकाहरुलाई देश छाड्न विशेष अनुमतिको आवश्यकता नपर्ने बताइएको छ ।
अहिलेका लागि यो नियममा केबल अष्ट्रेलियनहरुलाई समावेश गरिएको छ तर छिटै विदेशीहरुका लागि पनि धेरै नियम खुकुलो पारिने सरकारले जनाएको छ ।
गृह मन्त्री केरेन एन्ड्रयुजले आफ्नो बयानमा भनेका हुन्, “यो वर्ष अन्त्य हुनु अगाडि हामी पूरा डोज खोप लगाएका दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पनि स्वागत गर्ने अपेक्षा गरिरहेका छौँ । ”
यसअघि प्रधानमन्त्री स्कट मरिसनले नागरिकहरुलाई तिनको जीवन फिर्ता दिने समय आएको उल्लेख गरेका थिए । सरकारको यो निर्णयलाई अष्ट्रेलियन सहित सबैले आशावादी मानेका छन् । किनकी सिमा बन्द रहेकै कारण धेरै मानिसहरु महामारी अवधिभरि आफ्ना परिवार र प्रियजनबाट अलग्गिएर बस्नु परेको थियो ।
तर अझैपनि क्वीन्सल्यान्ड र वेस्टर्न अष्ट्रेलिया जस्ता स्टेटहरुले चाहिँ खोप दर उच्च बिन्दुमा नपुगेसम्म सिमाना बन्दै राखिने चेतावनी दिएका छन् ।
यो भन्दा अगाडिसम्म अष्ट्रेलियन नागरिकहरुले देश छाड्नुपर्दा विशेष कारण देखाएर अनुमति लिनुपर्ने हुन्थ्यो । र अझैपनि अष्ट्रेलिया भित्रिने सम्बन्धी भने कडाइ नै अपनाइ राखिएको छ । यसमा खोप नलगाएका मानिसहरुले यात्रा गर्न विशेष अनुमति लिनुपर्ने हुन्छ र १४ दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।