हुम्लामा ४ फिट हिउँ, तापक्रम माइनस ११

काठमाडौं । पुस २५, झण्डै २४ घण्टाको हिमपातपछि हुम्लामा चार फिटसम्म हिउँ जमेको छ ।
सदरमुकाममा एक फिट र अन्यत्र चार फिटसम्म हिउँ परेपछि हुम्लाको तापक्रम माइनस ११ डिग्रीसम्म झरेको छ ।
शुक्रबार अपरान्हदेखि परेको हिमपातले हुम्ला पूरै सेताम्मे भएको छ । नाम्खाको अधिकांश भागमा बाक्लो हिउँ जमेको छ ।
अत्यधिक चिसोले खानेपानीका पाइपमा पानी जमेको छ । खोला समेत जमेपछि जनजीवन प्रभावित भएको छ । गाईवस्तुलाई गोठमा थुनिएको छ । तर, तिनलाई पानी र घाँस खुवाउन समेत गाह्रो भएको स्थानीयले बताएका छन् ।