‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ को लोकार्पण

काठमाडौं । पुस २५, शिक्षा तथा समाजसेवी सीताराम ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’को शनिबार एक समारोहबीच लोकार्पण गरिएको छ ।
उहाँको परिवारद्धारा स्थापित सीताराम–पदमकुमारी फाउन्डेसनद्वारा आयोजित एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।
पुस्तकमाथि टिप्पणी गर्दै प्राडा गोविन्दमानसिंह कार्की र डा। शैलेन्दुप्रकाश नेपालले ढकालले गाउँ, टोल, समाज र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
उहाँको जीवनमा भए गरेका गतिविधिलाई चार खण्डमा विभाजित गरी प्रस्तुत गरिएको पुस्तकमा ७० लेखकका लेख तथा रचना समावेश गरिएका छन् । उहाँलाई धेरैले ‘ढकाल बा’ भनेर चिन्ने गर्दथे ।
गत वर्ष पुस ५ गते निधन हुनुभएका ढकाल भोजपुर र काठमाडौंमा आफ्नो जीवनभर सामाजिक सेवामा सक्रिय हुनुभएको थियो । उहाँ गाउँमा रहँदा घरको गहना बेचेरसमेत स्कुल बनाउने अभियानमा लाग्नुभएको थियो ।
ज्येष्ठ नागरिक आन्दोलनका योद्धा ढकालले गाउँमा छँदा विकास निर्माणका साथै आइपरेका समस्या, झै–झगडा समाधान गर्नेदेखि ढकाल समाजको अध्यक्ष भएर लामो समयसम्म सामाजिक कार्यमा योगदान गर्नुभएको थियो ।