नाकाका पाँच जना स्वास्थ्यकर्मी नै संक्रमित

काठमाडौं । पुस २८, नाकामा रहेको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भारतबाट आएका नेपालीको कोरोना परीक्षण गर्दा गर्दै पाँच जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
संक्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा पठाइएको छ ।नाकामा अरू स्वास्थ्यकर्मीले परीक्षण गरिरहेका छन् । नाकामा जनशक्ति अभाव हुन नदिन पालिकाहरूमा रहेका ल्याब टेक्निसियनलाई नाकाका पठाउने निर्णय भएको छ ।
फोकलपर्सन वलीले हरेक पालिकाबाट ल्याबका कर्मचारीलाई नाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा पठाउने तयारी भएको जानकारी दिनुभयो ।
नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिमा कोरोना देखा परिरहेको छ । भारतका विभिन्न शहरबाट आएका ठूलो संख्याका मानिसलाई भीडकै बीचमा कोरोना परीक्षण गर्ने गरिन्छ ।
भीड व्यवस्थित नहुँदा नै स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन् । नेपालगञ्ज नाकामा मंगलबार मात्रै ३७ जनामा कोरोना पुष्टि भएको छ । ३ सय ९६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
भारतमा ओमिक्रोनको संक्रमण बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ । वीरगञ्ज नाकामा पुष्टि भएका सबैमा ओमिक्रोन देखिएको फोकलपर्सन वलीले जानकारी दिनुभयो ।