बाक्लो हिउँले चौंरीचरनमा समस्या

हुम्ला । पुस २८, हुम्लाको उच्च भेगमा रहेको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ ।
तल्लो क्षेत्रमा हिमपात कम भए पनि उत्तरी नाम्खा गाउँपालिकाको चाला, यारी, तिल, जाङ् हल्जी, लिमी, मुचु, हिल्सालगायतका क्षेत्रमा यति बेला बाक्लो हिमपात हुँदा चौंरीचरनमा समस्या भएको हो ।
लगातार परेको बाक्लो हिउँले नाम्खा गाउँपालिका लिमीमा गाउँको चरन क्षेत्रलाई ढाक्केकाले चौंरी बचाउन समस्या भएको छ ।
पटक–पटक गरी चार फिटभन्दा बढी हिमपात भएपछि चौंरीपालक किसानलाई चौंरीगाई जोगाउन नै हम्मेहम्मे भएको नाम्खा–६ का वडाअध्यक्ष यपाल्जोर तामाङले बताउनुभयो । हिमपातले चौंरी चर्ने क्षेत्र सेताम्मे बनाएपछि लिमिकातिन, वटागाउँ, हल्जी, जाँग र तिलगाउँका चौंरी गोठालालाई संकट परेको छ ।