सत्ता गठबन्धनको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । माघ ४, सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ ।

निर्वाचन आयोगले माघ दोस्रो साताभित्र स्थानीय चुनावको मिति तय गर्न सरकारलाई गरेको आग्रह र आयोगले नै प्रस्ताव गरेको मितिमा निर्वाचन हुनुपर्ने एमालेको मागपछि सत्ता गठबन्धनले चुनावी मितिबारे छलफल गर्न समन्वय समितिको बैठक बोलाएको हो ।

गत शुक्रबार सर्वदलीय बैठक बोलाएर आयोगले माघ दोस्रो साताभित्र निर्वाचनको मिति घोषणा गर्न सत्तारुढ दललाई आग्रह गरेको थियो । छलफलमा प्रमुख प्रतिपक्षी एमालेले आयोगले प्रस्ताव गरेको १४ र २२ वैशाखमै निर्वाचन हुनुपर्ने माग गरेको थियो ।

आयोगले गरेको आग्रह र प्रतिपक्षीको दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनबारे सोमबार छलफल गरेका थिए । त्यसबारे विस्तृत छलफलका लागि आज राजनीतिक समन्वय समितिको बैठक बोलाइएको हो ।

स्थानीय तहको निर्वाचन मुख्य एजेण्डा रहेको बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने लागेको हो । त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

 

प्रकाशित : 18 January, 2022

प्रतिक्रिया दिनुहोस्