पीसीआर परीक्षण शुल्क सरकारीमा ८०० र निजीमा १२ सय बनाउने तयारी

काठमाडौं । माघ ५, ललितपुरको गोदावरीका एक व्यक्तिमा केही दिनअघि कोभिड–१९ संक्रमण देखियो ।
संयुक्त परिवारमा बस्ने उनको परिवारका सदस्यलाई पालैपालो संक्रमणको लक्षण देखिन थाल्यो । घरका आठ सदस्यमध्ये पाँच वर्षीया बालिकाबाहेक सबैमा लक्षण देखियो । तर, तीनजनाको नतिजा पोजिटिभ आएपछि अरूको परीक्षण गराइएन ।
काठमाडौंको घट्टेकुलो डेरा गरी बस्ने एक निम्नवर्गीय परिवारका तीनजना सदस्यमा पनि केही दिनअघि कोभिड संक्रमणका लक्षण देखिए । दोस्रो लहरको संक्रमणमा चारैजना संक्रमित भएको सो परिवारले फेरि परीक्षण गराउन चाहेन ।
बिहान–बेलुका तरकारी व्यापार गर्ने यो परिवारका अभिभावक भन्छन्, “पहिलेकै लहरमा जँचाउँदा, उपचार गर्दा निकै खर्च भयो । अहिले श्रीमती, छोरी र मलाई कोरोनाको लक्षण देखिएको छ । हुन त खासै गाह्रो भएको छैन, तैपनि जँचाउँदा फरक त नपर्ने हो । तर, कति मात्रै खर्च गर्नु, फेरि नेगेटिभ नआउँदासम्म जँचाइरहनुपर्यो ।
ललितपुरवासी आठ सदस्यीय परिवारको पनि समस्या उही थियो, गाईपालनबाट गुजार्ने उनीहरूका लागि आठजनाको दोहोर्याएर पीसीआर परीक्षण गर्नु सामान्य कुरा थिएन । ती व्यक्ति भन्छन्, “एक महिनाको कमाइले पनि परीक्षण गर्न नपुग्ने देखेपछि चुप लागेरै बसेका छौँ ।
पीसीआर शुल्ककै कारण परीक्षण नगराउने समस्या यी दुई परिवारको मात्रै होइन । अहिले आम नेपालीको समस्या बनेको छ । पछिल्लो दुई सातायता अधिकांश परिवारमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिन थालेका छन् ।