७४ वर्षीय हड्सनको प्रिमियर लिगमा पुनरागमन

काठमाडौं । माघ १२, रोय हड्सन ७४ वर्षको उमेरमा पुनः इंग्लिस प्रिमियर लिगमा फर्किएका छन् । इंग्ल्यान्डका पूर्वप्रशिक्षक हड्सनलाई वाटफोर्डले मंगलबार अनुबन्ध गरेको हो ।
योसँगै हड्सनको काँधमा वाटफोर्डलाई रेलिगेसनबाट जोगाउने गह्रौँ जिम्मेवारी आएको छ । वाटफोर्डले सोमबार मात्र ७० वर्षीय इटालियन प्रशिक्षक क्लाउडियो रोनेरीलाई बर्खास्त गरेको थियो वाटफोर्ड अहिले १४ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
त्यो रेलिगेसन क्षेत्रभन्दा माथि रहेको नर्विच सिटीभन्दा दुई अंकले पछाडि हो । यद्यपि, नर्विच सिटीले भन्दा वाटफोर्डले दुई खेल कम खेलेको छ । गत सिजन क्रिस्टल प्यालेसको जिम्मेवारी छाडेपछि हड्सन क्बलविहीन थिए ।
४५ वर्ष प्रशिक्षण करियरमा बिताएका हड्सनले बाँकी समय परिवारका लागि खर्च गर्ने बताएका थिए । तर, हड्सन पुनः काममा फर्किएका छन् । वाटफोर्डले हड्सनको अनुबन्धबारे विस्तृतमा केही खुलाएको छैन ।
हड्सनले यसअघि प्रिमियर लिगमा लिभरपुल, फुलहम, वेस्ट ब्रोम, ब्ल्याकबर्नको प्रशिक्षण सम्हालिसकेका छन् । वार्टफोर्डमा उनी जारी सिजन तेस्रो प्रशिक्षक हुन् । वाटफोर्डले यस सिजन जिनो पोजो र रिनेरीलाई बर्खास्त गरेको थियो । पछिल्लो १० वर्षमा वाटफोर्डबाट बर्खास्त हुने रिनेरी १५औँ प्रशिक्षक हुन् ।
वाटफोर्डले आउँदो फेब्रुअरी ५ मा बर्नलीविरुद्ध खेल्नेछ । बर्नली १२ अंकका साथ लिगको पुछारमा छ ।