केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाँकेमा घरेलु उद्योगमा आकर्षण

सहयात्रा टिभी

काठमाडौं । माघ २७, बाँके जिल्लामा साना तथा घरेलु उद्योग थपिने क्रम बढ्दै गएको छ ।

कोभिड–१९ महामारीका कारण आर्थिक समस्या बढ्दै गएपछि जिल्लामा घरेलु तथा साना उद्योगतर्फ धेरैको आकर्षण बढेको हो ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशिलाल अधिकारीले चालू आर्थिक वर्षको छ महिनामा एक हजार १९४ घरेलु तथा साना उद्योग दर्ता भएको जानकारी दिए ।

उनले कोरोना सङ्क्रमण तथा त्यसका कारण सिर्जित असहज परिस्थितिमा पनि छ महिनामा एक हजारभन्दा बढी उद्योग थपिनु आर्थिक विकासका लागि सकारात्मक रहेको बताए । सो कार्यालयका अनुसार साउनमा २१६, भदौमा २९७, असोजमा २३५, कात्तिकमा १५३, मङ्सिरमा १४७ र पुसमा १४६ वटा नयाँ साना उद्योग दर्ता भएका हुन् ।

आव २०७७र७८ मा बाँकेमा दुई हजार ३४१ वटा साना तथा घरेलु उद्योग दर्ता भएका थिए । सो आर्थिक वर्षमा उत्पादनमूलक ३१४, कृषि तथा वनजन्य एक हजार २७३, पर्यटनसम्बन्धी उद्योग ३०२ र सेवामूलक ४५२ वटा साना उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकृत अधिकारीले आव २०७७र७८ मा साना उद्योगले आठ हजार ९६१ जनालाई रोजगारी दिएको तथ्याङ्क रहेको जनाउँदै तीमध्ये महिलाको सङ्ख्या तीन हजार ५९९ र पुरुषको सङ्ख्या पाँच हजार ३६२ रहेको बताए ।

गत आर्थिक वर्षमा बाँकेमा ८०३ साना उद्योग मात्रै नवीकरण भए भने लगत कट्टा गर्ने उद्योगको सङ्ख्या ९६ रहेको थियो । कोरोना महामारीको समयमा पनि यति धेरै उद्योग खुलेर ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरिनु आर्थिक विकासका लागि निकै महत्त्वपूर्ण रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गत दुई वर्ष कोरोनाका कारण आर्थिक क्षेत्र निकै प्रभावित भए पनि घरेलु उद्योग भने वृद्धि हुनु सकारात्मक रहेको बताउनुभयो । उहाँले बेरोजगारी समस्या समाधानका लागि पनि घरेलु तथा साना उद्योगले राम्रो भूमिका निर्वाह गरेको पाइएको बताए ।

 

प्रकाशित : 10 February, 2022

प्रतिक्रिया दिनुहोस्