बेनीमा यातायात व्यवस्थापन गर्न वैकल्पिक सडक

म्याग्दी । माघ २८, सदरमुकाम बेनी बजारभित्र सवारीको चाप घटाउन, जाम हटाउन र दुर्घटना न्यूनीकरणका लागि वैकल्पिक सडक सञ्चालन भएको छ।
बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको खाली भागमा सडक बनाएर यातायातका साधन सञ्चालन गर्न थालिएको हो।
नगर प्रमुख हरिकुमार श्रेष्ठले साँघुरो सडक भएको बजारभित्र सवारी व्यवस्थापन गर्न वैकल्पिक सडक, बहुउद्देश्यीय मैदानमा बसपार्क, एकतर्फी सवारी सञ्चालन गराइएको बताए।
पोखरा र पर्वत हुँदै बेनी आएका म्याग्दीको पश्चिमी क्षेत्र जाने तथा बागलुङ र म्याग्दी भेगबाट बेनी हँदै मुस्ताङ र पर्वततर्फ जाने मालवाहक सवारी साधनलाई कालीगण्डकी र म्याग्दी नदीको किनारमा बनाइएको सडकबाट गन्तव्यतर्फ जाने व्यवस्था मिलाएका छौँ उनले भने , बजार भित्र लोड, अनलोड गर्नेबाहेक ट्रक, ट्र्याक्टर वैकल्पिक सडकबाट पठाउँदा व्यवस्थापन गर्न सहज भएको छ।
नदी किनारमा निर्माण भएको तटबन्धलाई असर नपुग्ने गरी ढुङ्गा र माटोले फिलिङ गरेर म्याग्दी प्रवेशद्धार कालीपुलबाट कालीगण्डकी र म्याग्दी नदीको दोभान हुँदै दरबाङ बसपार्क जोड्ने करिब एक किलोमिटर दूरीको वैकल्पिक सडक सञ्चालन भएको छ। बहुउद्देश्यीय मैदानमा नगरपालिकाले रु २० लाख बढी खर्चेर पूर्वाधार बनाएर बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरङ्जा, बेनी–बागलुङलगायत पश्चिमी क्षेत्रमा चल्ने बस, जीप र ट्याक्सी पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।