बुटवलको मेयरमा एमालेलाई टक्कर दिन कांग्रेसले कसलाई अगाडि सार्ला ?

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ३, निर्वाचनको मिति घोषणासँगै सधैं एमालेको विरासत रहँदै आएको बुटवलमा आफ्नो पकड कायम गर्न नेपाली कांग्रेस रणनीतिमा लागेको छ । कांग्रेसले राजनीति भेटघाट र लबिङ शुरू गरेको छ ।

कम्युनिस्ट किल्लाको रूपमा रहेको बुटवल उपमहानगरपालिकामा गठबन्धन बनाएरै भए पनि आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेको ‘आधार इलाका’ भत्काउने दाउमा कांग्रेस देखिन्छ । त्यसैले मेयर आफूले लिएर उपमेयर माओवादी वा अन्य सत्तारूढ दललाई दिएरै भए पनि बुटवलको नेतृत्वमा पुग्ने मौका कांग्रेसले कुरेर बसेको छ ।

२०५६ सालमा कांग्रेसका सांसद स्व। सूर्यप्रसाद प्रधानले बाहेर बुटवलबाट कांग्रेसले जित्न सकेको छैन । त्यो बेला एमाले विभाजन भएको फाइदा प्रधानले उठाएका थिए । अहिले एमाले विभाजनमा कांग्रेसले आँखा लगाएको छ तर एमाले विभाजनको असर बुटवलमा खासै छैन ।

बरू कांग्रेसभित्र गुटबन्दी बढी छ । त्यसको असर कांग्रेसको पालिका र क्षेत्रीय अधिवेशनमा चर्को रूपमा देखिएको थियो । नजिकिँदो निर्वाचनसँगै अब एमालेसँग भिड्न कांग्रेसले बुटवलमा कसलाई अगाडि ल्याउँला भन्ने सर्वत्र चासो देखिएको छ । कांग्रेस ५ दलीय गठबन्धन कायम रहनेमा आशावादी देखिन्छ ।

रूपन्देही कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला पनि हो । रूपन्देहीको राजनीति गृहमन्त्री खाँण र सार्वजनिक लेखा समिति सभापति तथा रूपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य भरतकुमार शाहको वरिपरि चल्छ तर बुटवल कांग्रेसमा संस्थापनइतर समूह बलियो छ ।

आगामी निर्वाचनमा कांग्रेसबाट बुटवलको नेतृत्वमा पुग्न मुख्यगरी आधा दर्जन आकांक्षी देखिन्छन् । यसअघिका उम्मेदवार नगर सभापति खेलराज पाण्डे, क्षेत्रीय सभापति हरि लम्साल, क्रियाशील सदस्य रामेश्वर श्रेष्ठ र उद्योगी तथा महाधिवेशन प्रतिनिधि चुन्नु पौडेल, व्यवसायी सुरेन्द्र श्रेष्ठ र नेता हरिबहादुर आचार्य र रामबहादुर कार्की नेतृत्वका लागि आकांक्षी रहेका कांग्रेस नेताहरू बताउँछन् ।

प्रकाशित : 15 February, 2022

प्रतिक्रिया दिनुहोस्