प्रतिनिधिसभा बैठकमा एमाले अवरोध कायमै

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ५, प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेको छ ।


प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजीसहित अवरोध कायमै राखेको हो । एमालेको अवरोधकाबीच सुरु भएको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/७८ पेश गरेका छन् ।

त्यसैगरी बैठकले २०६४ सालको संविधान सभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरिया, २०५८ सालमा तत्कालिन नेकपा एमालेको तर्फबाट निर्वाचित सदस्य तथा हाल नेकपा एकीकृत समाजवादीमा रहनुभएका लक्ष्मीदास मानन्धर र २०७० सालको संविधान सभामा तत्कालिन नेकपा एमालेको तर्फबाट निर्वाचित सदस्य भई हाल नेकपा एकीकृत समाजवादी०मा रहनुभएका डा. दुमनसिंह थापाको निधन निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा भएको अवरोधका कारण सभाको गतिशिलतामा असर परेको भन्दै सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका थिए ।

प्रतिनिधिसभा अवरोध भएका कारण सरकारलाई संसदप्रति उत्तरदायी बनाउने तथा कानुन निर्माणको काममा समेत अवरोध भएको उनले उल्लेख गरे । उनले भने, ‘सभाको बैठक विगत वर्षदेखि कोभिड १९ लगायतका कारणहरूबाट प्रभावित भइरहेको छ ।

यस महामारीका कारण सभाले सामान्यतया बैठकमा व्यतित गर्नुपर्ने समयमा अपेक्षाकृत न्युनता आएको छ । बैठक सञ्चालनका लागि उपलब्ध समयमा पनि भएका अवरोधबाट सभाको गतिशिलतामा असर परेको छ ।

आम नागरिकका दैनिक समस्याहरू जनप्रतिनिधिले सदन मार्फत् सरकारलाई सुनाउने, समाधानका प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरू समेत अवरोधका कारण प्रभावित हुन पुगेकाले आफ्नो भुमिका प्रति संवेदनशील हुन अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरूलाई अनुरोध गर्दछु ।’

प्रकाशित : 17 February, 2022

प्रतिक्रिया दिनुहोस्