गण्डकी प्रदेशबाट आर्थिक सर्वेक्षण शुरू

काठमाडौं । फाल्गुन १०, गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तथ्यमा आधारित तथ्याङ्कको आधारमा विकास निर्माणलाई प्रथामिकता दिनुपर्ने बताउनुभएको छ ।
संघीय अर्थ मन्त्रालयले पोखरामा आयोजना गरेको आर्थिक सर्वेक्षण २०७८र०७९ को तयारीसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले तथ्यमा आधारित प्राप्त तथ्याङ्कलाई आधार मानेर विकास निर्माणलाई प्रथामिकता दिनुपर्ने बताउनुभएको हो ।
कुनै कार्यालयले तथ्याङ्कलाई रहस्यमय बनाउन नहुने बताउँदै मन्त्री बरालले आफूहरूसँग भएको तथ्याङ्कलाई सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । सीमित श्रोत साधनको अधिकतम प्रयोग गर्दै जनताको आवश्यकतालाई समेत प्रथामिकीकरण गर्दै विकास निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय, सहकार्य र सह–अस्तित्व हुनुपर्ने मन्त्री बरालको भनाइ थियो ।
समाजवादको जग स्थापना हुने गरी सत्य तथा तथ्यमा आधारित तथ्याङ्क संकलन तथा सोहीअनुरूप कार्यान्वयन गर्न सबै लाग्नुपर्ने मन्त्री बरालको भनाइ थियो । आउँदो चैत २१ गते भित्र आ–आफ्नो कार्यालयबाट आर्थिक सर्वेक्षणको विवरण संकलन अभियानलाई सफल पार्न समयमै तथ्याङ्क उपलब्ध गराउन प्रादेशिक कार्यालयका पदाधिकारीहरूलाई मन्त्री बरालले आग्रहसमेत गर्नुभयो ।