फेसबुकको ‘टिकटक’ १ सय ५० देशमा
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ११, टिकटकको प्रतिस्पर्धीको रुपमा हेरिएको आफ्नो शर्ट भिडियो फिचर रील्सलाई फेसबुकले विश्वका १ सय ५० भन्दा धेरै देशमा सुरुवात गरेको छ ।

फेसबुकको मातृ कम्पनी मेटाले मंगलबार उक्त जानकारी गराएको हो । पछिल्लो त्रैमासिकको खराब वित्तिय प्रतिवेदनसँगै बजार मूल्यको झण्डै एक तिहाई गुमाएको मेटा कम्पनीले रील्सलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ ।
फेसबुक कम्पनीले सन् २०२० मा इन्स्टाग्राममा रील्स फिचर सुरुवात गरेको थियो भने गतवर्ष सन् २०२१ मा फेसबुकमा रील्स फिचर परीक्षणका रुपमा ल्याएको थियो ।
अत्यन्तै लोकप्रिय चिनिया भिडियो एप टिकटकलाई टक्कर दिनका फेसबुकले रील्सको सुरुवात गरेको हो मेटाका सिइओ मार्क जुकरबर्गले मंगलबार एक फेसबुक पोष्टमार्फत् फेसबुकको तिव्ररुपमा विस्तार भैरहेको फिचरको रुपमा रहेको भन्दै अब यसलाई विश्वका सबै फेसबुक प्रयोगकर्तामाझ पूराउने बताएका छन् ।
फेसबुकका अनुसार अहिले फेसबुक प्रयोगकर्ताले सोसल साइटमा बिताउने समयको आधाजसो त भिडियोमै बिताउने गर्दछन् । फेसबुकले रील्समार्फत् प्रयोगकर्ताले पैसा कमाउन सक्ने फिचरको पनि घोषणा गरेको छ । जसअनुसार रील्सका सर्जकलाई बोनस दिने कार्यक्रम धेरै देशहरुमा विस्तार गरिने र रील्स प्लाटफर्मका प्रयोगकर्ताले ब्यानर तथा स्टिकरको रुपमा विज्ञापनबाट समेत पैसा कमाउन सक्ने फिचरको पनि परीक्षण भैरहेको फेसबुकले जनाएको छ ।


