युक्रेन अतिक्रमणसँगै शीतयुद्ध–२ सुरु

काठमाडौं । फाल्गुन १५, धाबा बोलाइसँगै सुरु भएको युक्रेनमाथिको रुसी अतिक्रमणले दुवै मुलुक र विश्वलाई अकल्पनीय प्रभाव पारेको छ ।
छिमेकी मुलुकमा बम खसाल्दै गर्दा वास्तवमा रुसले आफ्नो रणनीतिक शत्रु अमेरिकालाई निसाना बनाइरहेको छ । यो विगत दुई दशकमा रुसी सैन्य प्रक्षेपणका शृंखलामा सबैभन्दा नौलो र गम्भीर हमला हो ।
र, हमला विश्वभरि हुने अमेरिकाका सैन्य गतिविधिभन्दा भिन्न छैन । हंगेरीमा सन् १९५६, चेकोस्लोभाकियामा सन् १९६८ र अफगानिस्तानमा सन् १९७९ मा सोभियत संघले गरेको हस्तक्षेपको शीतयुद्धकालीन शक्ति उन्माद मस्कोको अहिलेको युक्रेन अतिक्रमणमा दोहोरिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका कथनी हेर्ने हो भने शक्ति उन्मादको प्रदर्शनमा रुस सुरुवाती चरणमै रहेको छ ।
हालैका भाषणमा पुटिनले युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको अधिकारलाई चुनौती दिएका छन्, जसले युक्रेन मामिलामा रुसी हस्तक्षेपका लागि थप मार्ग प्रशस्त गरेको छ ।
गत साता दोनेत्स्क र लुहान्स्कलाई गणतन्त्रको मान्यता दिएपछि रुसी राष्ट्रपतिले पूर्वी युक्रेनमा ‘शान्ति सेना’ तैनाथ गराएका थिए । लगत्तै उनले ‘विशेष सैन्य कारबाही’को आदेश दिएका छन्, जसले राजधानी किभसहित युक्रेनभरि सैन्य मिसनलाई विस्तारित गरेको छ ।
नतिजा पश्चिमा शक्तिले रुसको अतिक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भनेर निन्दा गरेका छन् र रुसविरुद्ध कडा प्रतिबन्ध लगाएका छन् । यो सुरुवात मात्रै हुन सक्छ पश्चिमा जगत् रुसबाट थप टाढिन सक्छ । तर, मस्को अविचलित देखिन्छ ।
इतिहास हेर्ने हो भने रुसजस्ता ठूला शक्ति जतिसुकै कठोर प्रतिबन्ध लागे पनि प्रमुख राष्ट्रिय सुरक्षा स्वार्थ पछ्याउने विषयमा विचलित हुँदैनन् । र, जब प्रतिबन्धले रुसलाई प्रभावित पार्न थाल्छ, मस्को थप उग्र हुने देखिन्छ ।