शेर्पा समुदायले यसरी मनाए ग्याल्पो ल्होसार

काठमाडौं । फाल्गुन १९, महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन्।
उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज धुमधामसँग ग्याल्पो ल्होशार मनाउने परम्परा रहेको छ। शेर्पा समुदाय एवं महायान बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन्।
भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात नयाँ वर्ष शुरु हुन्छ। यस पटक बाँदर वर्ष पूरा भई चरा वर्ष शुरु भएको छ।
शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ। बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने विश्वास रहेको छ।
ल्होसार तिब्बतिय राज परम्पराबाट आएको र ल्होसार शब्द पनि तिब्बतीयन भएको बौद्धधर्मावम्बी पासाङ लामाले बताए। उनले ल्होसार नयाँ वर्षको रुपमा रहेको र यसले हर्ष, उमंगलाई भर्ने जनविश्वास रहेको बताए।
बौद्धधर्मावलम्बी लामाले भने, ‘यो ल्होसार भन्नाले नयाँ वर्षलाई जनाउँछ। ग्याल्पो भन्नाले राजालाई जनाउँछ। राज परम्पराबाट चलिआएको ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ। ल्होसार भन्ने बौद्धिष्टको महायान परम्परा मान्दै आएको यो ल्होसार हामीले मनाइरहेका छौँ । ल्होसार तिब्बतबाट शुरु भएको हो। यो तिब्बतियन शब्द हो।’
ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।