एमसीसी अनुमोदन भित्रका दृश्य अदृश्य परिघटनाहरु

काठमाडौं । फाल्गुन २२,नेताहरुबीच लामो रस्साकस्सी, माथापच्ची, आरोह–अवरोह र वादविवादकाबीच अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको छ ।
सत्ता गठबन्धन छोड्नै नसक्ने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको बाध्यतामा व्याख्यात्मक घोषणाको सहमति झुण्ड्याएर प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन सफल भएका हुन् । व्याख्यात्मक घोषणा लाज ढाक्ने पारदर्शी टालो मात्रै हो भन्ने आलोचना सहेरै पनि प्रचण्ड र नेपाल गठबन्धन जोगिएकोमा दङ्ग छन् ।
एमालेसँग मिलेर भए पनि एमसीसीमा जोखिम मोल्न तयार भएका देउवा माओवादी र समाजवादीलाई झुकाएरै चुनौती पार गर्न सफल भएकोमा सन्तुष्ट छन् ।
राजनीतिक नाफा, घाटाविना नै एमसीसी पास भएकोमा एमालेले पनि राहतको सास फेरेको छ । अनि, चार वर्षदेखि भ्रम र हल्लाको खेतीमा हराएको एमसीसी संसदबाट अनुमोदन हुँदा अमेरिकी दूतावासको टाउको हल्का भएको हुनुपर्छ ।
आफूले दिएको समयसीमाभन्दा एक दिनअघि नै नेपालको संसदबाट एमसीसी अनुमोदन भएकोमा अमेरिकाले सकारात्मक प्रतिक्रिया जनाइसकेको छ । एमसीसी पास हुन नदिने खेलमा खुलेरै लागेको चीन अब एमसीसीको कार्यान्वयनलाई पर्खेर हेर्ने पुरानो ठाउँमा आइपुगेको छ ।
एमसीसीको विरोधमा रणभूमिजस्तो बनेका सडकमा अब गाडीहरु गुड्न थालेका छन् । विरोध प्रदर्शनलाई कायमै राख्नुपर्ने बाध्यता बोकेका केही नेता र केही साना कम्युनिस्ट घटक बाहेक अब धेरैको ध्यान एमसीसीको कार्यान्वयन कसरी हुन्छ भन्ने दिशातिर मोडिएको छ ।
एमसीसी पास भए अमेरिकी सेना आउँछ भन्ने विषयमा भइरहेको बहस अब यसको कार्यान्वयन र दलहरुका आन्तरिक विवादमा सीमित हुँदै गएको छ ।