उपाधि होडमा सिटीलाई लिभरपुलको चुनौती

काठमाडौं । फाल्गुन २२,लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार सातौँ जित निकाल्नेक्रममा शनिबार राति वेस्ट ह्यामविरुद्ध १–० को नतिजा निकालेको छ ।
जितसँगै लिभरपुलले शीर्ष स्थानको क्लब म्यानचेस्टर सिटीसँगको दूरी तीन अंकमा छोट्ट्याएको छ ।एनफिल्डमा लिभरपुललाई जिताउन सडियो मानेले २७औँ मिनेटमा गरेको गोल पर्याप्त बन्यो ।
मानेले ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डको पासमा गोल गरेका थिए । वेस्ट ह्यामले दोस्रो हाफमा गोल गर्ने दुई राम्रो मौका खेर फालेको थियो ।
जितसँगै लिभरपुलले २७ खेलबाट ६३ अंक जोडेको छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ६६ अंक छ ।
लिभरपुलले अब प्रिमियर लिगमा शनिबार ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि लिभरपुलले च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्ध घरेलु मैदानमा खेल्नेछ । सिटीले भने आइतबार सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रिमियर लिगका अरू खेलमा क्रिस्टल प्यालेसले उल्भरह्याम्पटनविरुद्ध २–० को विजय हासिल गर्यो । ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३–१ ले हरायो ।
त्यस्तै, न्युक्यासल युनाइटेडले ब्राइटनमाथि २–१ को विजय हासिल गर्यो । चेल्सीले बर्नलीलाई ४–० ले हरायो ।
स्टेभन जोरार्डको एस्टन भिल्लाले साउथह्याम्पटनमाथि ४–० को फराकिलो जित दर्ता गर्यो । लेस्टर सिटीले लिड्स युनाइटेडलाई १–० ले हरायो ।