होलीको महत्व र रौनक हराउँदै

सहयात्रा टिभी

काठमाडौं । चैत ३, गाउँघरमा बढ्दो आधुनिकताले रङैरङको पर्वका रूपमा मनाइने होली अर्थात् फागु पूर्णिमा पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ ।

गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली फागु खेल्ने चलन पछिल्लो समय हट्दै गएको हो । मौलिक परम्परा, संस्कार संस्कृतिभन्दा माथि उठेर भड्किलो पाराले होली मनाउने संस्कार गाउँमा भित्रिन पुगेकाले परम्परागत संस्कृति हराउन थालेका हुन् ।

होली आउनु एक– दुई दिन अगाडि नै मादल, झ्यालीलगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाइने गरिन्थ्यो । अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको छ ।

गाउँघरमा शहरी परिवेशले छुन थालेपछि मौलिक भाकामा होली गाउने र नाच्ने प्रचलन हराउँदै गएको हो । यस पर्वलाई विशेषगरी शहर बजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ । त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा पाकापुस्ता चिन्ता व्यक्त गर्छन् ।

पछिल्लो समय होली अर्थात् फागुपर्व तडकभडक हुन थालेको छ । शहरी परिवेशले ढपक्कै ढाकेपछि गाउँमा मौलिक गीत गाएर नाचेर होली अर्थात् फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दो छ । यसले पनि होलीको परम्परागत महत्व र रौनक हराउँदै गएको छ ।

 

 

प्रकाशित : 17 March, 2022

प्रतिक्रिया दिनुहोस्