सेना परिचालनको तयारीसहित निर्वाचन एकीकृत सुरक्षा नीति पारित

काठमाडौं। चैत ११, सरकारले आगामी वैशाख ३० गतेकोे स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त सुरक्षा नीति पारित गरेको हो ।सो नीतिले निर्वाचन सुरक्षामा नेपाली सेना परिचालनको समेत तयारी गरेको छ ।
निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खाणले बताए । निर्वाचन लोकतन्त्रको सुनौलो पक्ष भएकाले यसलाई सुरक्षित ढङ्गले भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व भएको उनले बताए ।
निर्वाचन एकीकृत सुरक्षा नीतिले राज्यका चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई आपसी समन्वय र सहकार्य हुने गरी एकीकृत रूपमा परिचालन गर्न सहयोग पुग्ने दाबी गृहमन्त्री खाणको थियो ।