प्रधानमन्त्रीको भारत भ्रमणका बहु आयामिक परिणाम

काठमाडौं। चैत २१, प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वमा गठबन्धन सरकार गठन भएपछिको पहिलो औपचारिक भारत भ्रमण सम्पन्न गरेर फर्किनु भएको छ।
दिल्ली प्रवासमा रहँदा प्रधानमन्त्रीको भेटघाट र दैनिक कार्यक्रम काठमाडौंका लागि चासोको विषय बन्नु स्वाभाविक थियो र बन्यो पनि।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदाको स्वागत, भारतीय जनता पार्टीको कार्यालय भ्रमण र यहाँसम्म कि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेट हुँदा देउवाको तर्फबाट टिपोट गर्न कोही नदेखिएको विषय पनि चर्चित बने।
विगत लामो समयदेखि शिथिल कूटनीतिक सम्बन्धलाई ऊर्जा प्रदान गराउन तीन दिनको यस औपचारिक भ्रमणबाट प्राप्त उपलब्धिबारे फरक–फरक दृष्टिकोण सार्वजनिक हुने क्रम जारी रहेको देखिन्छ।
कतिपय राजनीतिक दल र नेताका लागि प्रधानमन्त्री देउवाको भ्रमणलाई विवादास्पद बनाउने प्रयास भइरहेको छ। जबकी टेबलमा बसेर समाधान खोज्नुपर्ने मान्यता अनुरुप कूटनीतिक परिपक्वता देखाउदै प्रधानमन्त्री देउवाले सीमालगायत नेपाल(भारतबीच रहेका यावत् मुद्दा उठाएका छन्।