सिन्धुलीको तीनपाटन–१० अब बालमैत्री वडा

काठमाडौं। चैत २१, ५१ वटा सूचक पूरा गरेपछि सिन्धुलीको तीनपाटन गाउँपालिका १० लाइ बालमैत्री वडा घोषणा गरिएको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका तहगत खुड्किला, सूचक र मापदण्ड पूरा गरेकाले सिन्धुलीका ७९ वडामध्ये तीनपाटन वडा नं १० पहिलो भएको हो ।
बालबालिकाको बचाउ, संरक्षण, विकास, अर्थपूर्ण सहभागिता,अधिकारलाइ स्थानीयतहको नीति,संरचना, प्रणाली र कार्यप्रकृया व्यवहारमा संस्थागत गरेकाले बालमैत्री वडा घोषणा भएको बाल सञ्जाल जिल्लाध्यक्ष संगिता श्रेष्ठले बताइन् ।
बालमैत्री वडा घोषणा भएको सुखद दिन भनेर विद्यालयहरुका बालबालिकाले प्लेकार्डसहित कार्यक्रममा सहभागी भएका थिए ।
वडामा हुने हरेक गतिविधिमा बालबालिकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न र अन्य वडाहरुलाइसमेत प्रेरणा मिलोस भनेर गुञ्जयमान बनाइ घोषणा गरिएको अध्यक्ष श्रेष्ठले जनाइन् ।
घोषणा कार्यक्रममा बालविवाहविरुद्धको सडक नाटक प्रदर्शन गरिएको थियो ।
वडालाई बालबालिका मैत्री बनाउन चेतना जगाउने उदेश्यले खैंजडी भजन प्रस्तुत गरिएको थियो ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शंकरराज वर्मा तिवारीले बालबालिकालाई सुनौं र बाल सरोकारका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको सुनिश्चितताको लागि हस्ताक्षर गरेका थिए ।