आठ महिनामा तीन करोड भन्दा बढीको सियो आयात

काठमाडौं। चैत २२, चालु आर्थिक वर्ष २०७८/ ७९ को पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँ भन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउन देखि फागुन मसान्त सम्मको अवधिमा उक्त मुल्यका सियो नेपाल भित्रिएको हो ।
पछिल्लो आठ महिनामा कूल ३ करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको भन्सारको तथ्याङ्कले देखाउँछ ।
सो मुल्यमा २ करोड ९९ लाख ५५ हजार ४१ थान र १२ हजार ४७३ केजी सियो नेपालले आयात गरेको छ ।
विभागका अनुसार क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वट्जरल्याण्ड, टाइवान, अमेरिका र कतारबाट नेपालमा सियो भित्रिएका छन् ।
नेपालले सबैभन्दा बढी सियो भारत र चीनबाट आयात गर्ने गरेको छ । चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा चीनबाट २ करोड ४४ लाख ३५ हजार रुपैयाँ र भारतबाट ७९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको देखिन्छ ।
गत आर्थिक वर्ष २०७७/ ७८ मा नेपालले विभिन्न देशबाट २ करोड ५४ लाख ३ हजार रुपैयाँ बराबरको सियो आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षमा आयात गरेकोभन्दा बढी मूल्यको सियो नेपालले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आयात गरिसकेको छ ।