इटहरी गोल्डकप सगरमाथाको जितसँगै सेमिफाइनल समीकरण पूरा

काठमाडौं। चैत २३, बाह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।
सगरमाथा युथ क्लब विराटचोकको जितसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएको हो। इटहरी रंगशालामा जारी प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा न्युरोड टिमलाई ३ गोल अन्तरले हराउँदै सगरमाथाले सेमिफाइनलमा स्थान बनाएको हो।
सगरमाथालाई जित दिलाउन आभाष लामिछानेले २ गोल गरे। एक गोल प्रदीप लामाले गरे। खेलको तेस्रो मिनेटमै आभाषको गोलबाट सगरमाथाले अग्रता बनाएको थियो। पहिलो हाफमा १.० को अग्रता बनाएको सगरमाथाले दोस्रो हाफमा थप २ गोल गर्यो।
६० औँ मिनेटमा प्रदीप लामाले अग्रता दोब्बर बनाए। ५ मिनेट नबित्दै आभाषले फ्री किक प्रहारलाई जाली चुमाउँदा सगरमाथाले खेल ३.० ले जित्यो। दुवै टोली केही राम्रा मुभहरूलाई सदुपयोग गर्न सकेनन्।
खेलको २३ औँ मिनेटमा न्युरोड टिमको स्टेफन समिरको प्रहारलाई सगरमाथाका डिफेन्डर निशान खड्काले क्लियर गरिदिए। एनआरटीका सञ्जीव विष्टको प्रहार यान्निकले क्लियर गरे। ३१ औँ मिनेटमा हेमन्त थापा मगरको प्रहारलाई न्युरोड टिमका गोलरक्षक पुजन होनाले पञ्च गरेर बचाए।
इन्जुरी समयमा प्रदीप लामाले वान भर्सेस वानको अवस्थामा पाएको अवसरलाई खेर फाले। ८४ औँ मिनेटमा आभाष लामिछानेको क्रस पासलाई मिलन राईले पोष्टको दिशा दिन सकेनन्। ९० औँ मिनेटमा मिलनको कडा प्रहार बार लागेर फर्कियो।