चीनले ताइवान माथि आक्रमण गर्ने समय अप्रत्याशित हुन्छः अमेरिकी सैन्य कमान्डर

काठमाडौं। चैत २३, अमेरिकी नौसेनाको ‘प्यासिफिक फ्लिट’का कमान्डरले चीनले कहिले ताइवानमाथि आक्रमण गर्छ भनेर अनुमान गर्न नसकिने बताएका छन्।
उनले युक्रेन माथि रुसको आक्रमणबाट पनि बेइजिङले पाठ सिक्ने बताए। एड्मिरल स्यामुएल पापारोले ताइवानमाथि चीनको आक्रमणको समय अप्रत्याशित हुने भएकाले निरन्तर चनाखो रहनुपर्ने बताए।
गत वर्ष इन्डो–प्यासिफिक कमान्डका पूर्वप्रमुख फिलिप डेविडसनले चीनले ‘आगामी ६ वर्षभित्र ताइवानमा आक्रमण गर्ने’ दाबी गरेका थिए। एड्मिरल पापारोले भने त्यसरी समयसीमा तोक्न नसकिने बताए।
‘मलाई लाग्छ, बलपूर्वक एकीकरणको सम्भावित समय अत्यन्तै अप्रत्याशित हुन्छ,’ पापारोले वासिङ्टनमा पत्रकारहरुसँग भने। बेइजिङको निर्णयलाई अनेक जटिल पक्षहरुले प्रभावित तुल्याउने उनको भनाइ थियो।
ताइवान र मुख्यभूमि चीनमा १९४९ देखि नै अलगअलग शासन सञ्चालन हुँदै आएको छ। बेइजिङले भने ताइवानलाई आफ्नै भूमि मान्छ। रुसले युक्रेनमाथि आक्रमण गरेसँगै ताइवानमा पनि चीनले आक्रमण गर्न सक्ने अनुमान गर्न थालिएको थियो।