स्वास्थ्य पर्यटनको हब बन्दै भरतपुर

सहयात्रा टिभी

काठमाडौं। चैत २४, तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या भन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ ।

भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरी जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो ।

सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल र यहाँका २० भन्दा बढी साना ठूला निजी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी र तिनका कुरुवा बाहिरी जिल्लाबाट आउने गर्दछन् । शिक्षक अस्पताल यही बन्ने भएको छ ।

सबैभन्दा बढी क्यान्सर अस्पतालमा बाहिरी जिल्लाबाट बिरामी आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार दैनिक बहिरङ्ग सेवामा ८०० हाराहारी बिरामी आउने गर्दछन् ।

तीमध्ये ५०० जति बाहिरी जिल्लाका हुने गरेको उनको भनाइ छ । नियमितरुपमा लामो समय परीक्षण र उपचार गराइरहेकाको सङ्ख्या ५०० हाराहारी छ । ती बिरामीमध्ये पनि ७० प्रतिशत हाराहारी बाहिरी जिल्लाका छन् ।

वार्षिकरुपमा ५०० हाराहारी बिरामी भारतीय सीमा क्षेत्रबाट आउने गर्दछन् । गौतमले भने, “अस्पतालमा भन्दा बाहिर बस्ने र खानेमा बिरामीको धेरै खर्च हुने गर्दछ ।”

 

प्रकाशित : 7 April, 2022

प्रतिक्रिया दिनुहोस्