रियलमा रोनाल्डोको अनुपस्थिती पूरा गर्दै बेन्जेमा

काठमाडौं। चैत २४, च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा साविक विजेता चेल्सीमाथि रियल मड्रिडले शानदार जित निकाल्यो ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिज मैदानमा भएको खेलमा म्याड्रिडले घरेलु टोलीलाई ३–१ को गोल अन्तरले पराजित गर्यो ।
खेलमा रियलका लागि तीनै गोल गरेका फ्रेन्च फरवार्ड करिम बेन्जेमाको प्रदर्शन उत्कृष्ट रह्यो । उनले २१, २४ र ४६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
बेन्जेमाले पछिल्लो समय रियलका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अघिल्लो साता ला लिगामा उनले सेल्टा भिगोविरुद्ध दुई गोल गरेका थिए ।
यस्तै यसअघि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीविरुद्ध च्याम्पियन्स लिगको खेलमा पनि ह्याट्रिक गरेका थिए ।
बेन्जेमाको प्रदर्शनले धेरै रियल मड्रिडका प्रसंशक हरुलाई खुशी दिँदै आएको छ । रियलका स्ट्राइकरलाई प्रायः क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्ने गरिन्छ ।
आजकल केही फुटबल पण्डितहरूले पनि बेन्जेमा र रोनाल्डोबीच तुलना गर्न थालेका छन् । तर रोनाल्डो आफूभन्दा राम्रो खेलाडी रहेको बेन्जेमा स्वीकार गर्छन् ।
‘जब रोनाल्डो रियल म्याड्रिडका लागि खेल्थे तब उनले वर्षमा ५० देखि ६० गोल गर्थे । जसलाई हामीले स्वीकार गर्नै पर्छ ।’ बेन्जेमाले फ्रान्स फुटबलसँगको एक अन्तरवार्तामा भनेका थिए ।
अवश्य पनि क्रिस्टियानो रोनाल्डोले रियलका लागि गरेको गोलका आधारमा तुलना गर्दा बेन्जेमा अझै पछि छन् । तथ्यांक हेर्दा रोनाल्डोले रियलका लागि ४ सय ५१ गोल गरेका छन् भने रियलको जर्सीमा बेन्जेमाको गोलसंख्या ३ सय १३ छ ।
सन् २०१८ मा युभेन्टसका लागि रियल छाडेका रोनाल्डोको अनुपस्थित कसले पूरा गर्ला भन्ने पनि प्रश्न थियो ।
धेरै लामो समयसम्म रोनाल्डोको छायाँमा परेका र त्यसमाथि करिअरको उत्तरार्द्धमा रहेका बेन्जेमालाई थोरैले मात्रै रोनाल्डोको स्थान लिनसक्ने खेलाडी मानेका थिए ।
तर बेन्जेमाले फेरि एकपटक आफूलाई रोनाल्डोको अनुपस्थित पूरा गर्न सक्षम रहेको देखाएका छन् । रोनाल्डोले रियल छाडेपछि उनलाई टिमको मुख्य स्ट्राइकरको भूमिका र अवसर पनि मिल्यो ।