सुवास नेम्बाङको गृहनगरमा एमाले हार्यो

काठमाडौं। ज्येष्ठ ४, इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेसले कमब्याक गरेको छ ।
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेसले कमब्याक गरेको हो ।
कांग्रेसका उम्मेदवार केशव थापाले नेकपा एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित भएका छन् । उनले १३ हजार १ सय ६५ मत पाउँदा चेम्जोङले १० हजार पाँच सय ८७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा पनि कांग्रेसले नै विजय हासिल गरेको छ । कांग्रेसकी उम्मेदवार विष्णु दाहाल लिम्बुले एमालेकी सीता रिजाललाई उपप्रमुखमा पराजित गरिन् ।
दाहालको १३ हजार ५ सय ४२ मत आउँदा एमालेकी रिजालको १० हजार ८८ मत पाइन् । इलाम नगरपालिकामा ०४९ सालमा कांग्रेसका केशव थापाले प्रमुख जितेयता कांग्रेस नगरको नेतृत्वमा पुग्न सकेको थिएन ।
०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । त्यसबेला एमालेका महेश बस्नेत मेयर र कृष्ण श्रेष्ठ उपमेयरमा निर्वाचित भएका थिए ।
१८ वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन भए । ०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेका महेश बस्नेत र उपप्रमुखमा सुशीला नेम्वाङ निर्वाचित भएका थिए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले दुवै पदमा जित हासिल गरेको हो ।