‘कबड्डी ४’की नायिका गौमायाको नयाँ फिल्म ‘गोर्खा’ साउनमा आउँदै

सहयात्रा टिभी

काठमाडौँ । जेठ १८,भिक्टोरिया क्रस विजेता कुलवीर थापाको बायोपिक फिल्म ‘गोर्खा स् बिनिथ द ब्रेभरी’ आगामी साउनमा नेपालमा रिलिज हुने भएको छ ।

अहिले हलमा चलिरहेको ‘कबड्डी ४’की अभिनेत्री गौमाया गुरुङको मुख्य भूमिका यो फिल्ममा छ । बेलायतमा छायांकन भएको फिल्मको अहिले सम्पादन भइरहेको निर्देशक प्रदीप शाहीले जनाए ।

२५ सेप्टेम्बर १९१५ मा फ्रान्सको लुसमा बेलायती सेनाले गरेको आक्रमणको घटनामा फिल्म आधारित छ । उक्त आक्रमणमा गोर्खा राइफल्सका सैनिक थापा घाइते भएका थिए ।

घटनामा बाँच्न सफल उनी त्यसपछि अन्य घाइतेहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई भिक्टोरिया क्रस पदक प्राप्त भयो । उनी यो पदक पाउने पहिलो गोर्खा सैनिक बने ।

निर्देशक शाहीले विश्व शान्तिको लागि लड्ने पूर्खाहरुलाई श्रद्धाञ्जलीको लागि फिल्म निर्माण गरेको बताए । शाही प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा गौमायासहित समीर गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ र सूर्य गुरुङको अभिनय छ ।

प्रकाशित : 1 June, 2022

प्रतिक्रिया दिनुहोस्