नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी

सहयात्रा टिभी

काठमाडौँ । जेठ २९, आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय सिरिज अन्तर्गतको खेलमा नेपाल र अमेरिकाले बराबरी खेलेका छन् ।

अमेरिकाको टेक्ससमा आइतबार बिहान नेपाल र अमेरिकाबीचको रोमान्चक खेल बराबरी भएको हो ।

मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन जोडेपछि खेल बराबरीमा सकिएको हो । अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेले ।

यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडे ।

नेपालका आदिल आलमले २ विकेट लिए । जित उन्मुख अमेरिकाविरुद्ध आदिलले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे ।

अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको थियो । तर, आदिलले पाँच रन खर्चिदै खेल बराबरी गराए ।

रोमान्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो । पाँचौं बलमा आदिलले आरोन जोन्सलाई पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल बराबरी भएको हो ।

आदिल प्लेयर अफ द म्याच चुनिए । यस्तै कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बल अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो ।

नेपालका लागि उपकप्तान रोहित पौडेलले ६२ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ खेल्दा देव खनालले अर्धशतकीय इनिङ खेल्दै ५४ रन बनाए ।

खेल बराबरी भएपछि नेपाल र अमेरिकाले एक एक अंक पाएका छन् । लिग टु मा नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका २२ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा छ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मंगलबार र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध बुधबार खेल्ने तालिका रहेको छ ।

प्रकाशित : 12 June, 2022

प्रतिक्रिया दिनुहोस्