निहारिकाको न्यायका लागि दबाब बढ्दै

काठमाडौँ । जेठ ३०, बसन्तपुरमा चार दिनदेखि आमरण अनशनमा रहेकी महोत्तरीको जलेश्वरकी निहारिका राजपुतलाई न्याय दिलाउन दबाब बढ्न थालेको छ । यस्तै राष्ट्रिय मावनअधिकार आयोग र राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानवअधिकार आयोगले पनि निहारिकाको मागप्रति ऐक्यबद्धता जनाएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा र महिला आयोगकी अध्यक्ष कमला पराजुली आइतबार अनशनस्थलमा पुगेर निहारिकाको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनलाई न्याय दिलाउनुपर्ने बताएका छन् ।
घटनाको छानबिन गरि दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति सहितको न्याय दिनुपर्ने थापा र पराजुलीले बताएका छन् ।
कांग्रेस नेतृ डा. डीला संग्रौलाले निहारिकाले न्याय पाउनुपर्ने बताएकी छन्। संग्रौलाले फेसबुकमा निहारिकाको मुद्दामाथि पुनः अनुसन्धान थाल्न प्रहरीलाई आग्रह गर्दै लेखेकी छन्– ‘बसन्तपुरमा आमरण अनशनमा रहेकी निहारिकाले १७ वर्षकी हुँदा बलात्कृत भएको र आफूले अझै न्याय नपाएको जिकिर गरिरहेकी छिन्।’ उनको मुद्दा सम्मानित उच्च अदालतमा विचाराधीन छ। भनिन्छ न्याय ढिलो हुनु भनेको न्याय नपाउनु हो। म प्रहरी प्रशासनलाई यो प्रकरणबारे फेरि अनुसन्धान थाल्न, न्यायालयलाई छिटो र सही न्याय दिन र बालक तथा आमाको गास,वास,कपासको उचित प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्दछु।’
निहारिकाको न्यायका लागि अधिकारकर्मी तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारी लगायत अधिकारकर्मीले पनि आवाज उठाइरहेका छन् ।
आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको दाबसहित न्यायको माग गर्दै निहारिका बसन्तपुरमा आमरण अनसनमा बसेकी छन् । बलात्कारपछि गर्भवती भएकी उनको २१ महिनाको बच्चा पनि छ ।