अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प

काठमाडौँ । असार ८, अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।
दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पबाट भएको क्षति विवरण भने आइसकेको छैन ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको छ।
पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ ।
भूकम्प भारतका केही भूभागमा महसुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) ले जनाएको छ।
ईएमएससीका साथै ट्वीटर प्रयोगकर्ताहरुले भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादमा पनि महसुस गरिएको उल्लेख गरेका छन् । उनीहरुले भूकम्पको धक्का निक्कै शक्तिशाली र लामो भएको बताएका छन् ।