तीनसम्म वर्षा जारी रहने, प्रदेश १ मा भारी वर्षाको सम्भावना

काठमाडौँ । असार ११, जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी सोमबारसम्म वर्षा जारी रहने जनाएको छ । मनसुनी वर्षा आज बिहान प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भइरहेको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए।
महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै प्रदेश नं १ का एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद् भट्टराईका अनुसार काठमाडौं उपत्यकामा पनि दिउँसोपछि वर्षा हुने सम्भावना छ।
राती देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशभरका पहाडी भेगका धेरै स्थान र बाँकी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेश एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
महाशाखाको बुलेटिनअनुसार कम्तीमा तीन दिनसम्म वर्षा जारी रहनेछ।